पूर्ण विराम
जाडोले कठ्याङ्ग्रिएको सहरभित्र
लगलग कामिरहेका बितराहरूका माझमा
कसैको तागतले पनि फुटाल्न नसक्ने
भरभराउँदो आगो बालिरहने एउटा मकल भएर मर्यौ
भयानक कसलालाई एक मासाको छुर्पी बनाउँदै
र भीषण प्रताडनालाई एक नम्बरको भकुन्डोमा परिणत गर्दै
आफ्ना गोडाहरूलाई अलिकति पनि बाउँडिन नदिएर मर्यौ
अभद्र बतास चलिरहेको वातावरणमा
बतासको सम्पूर्ण वस्त्रहरण गरेर
नाङ्गो बतासलाई सबैले देख्ने गरेर
गल्छेडाहरूमा समेत दौडिन लगाएर मर्यौ
नरधामहरूले जस्तासुकै ढुङ्ग्राहरू लिएर
जति बल प्रयोग गरेर फुके पनि
निभाउन नसक्ने एउटा मैनबत्ती भएर मर्यौ
कोष्ठभित्र रहेकाहरूको एउटा पनि
नाम–नामेसी नफट्कारेर
एउटा फलामे जिब्रो भएर नै मर्यौ
मरे पनि एउटा युगको
युगीन दस्तावेज भएर मर्यौ ।
बाँच्नुका नाममा एक थोपा पनि
र्याल नचुहाएको एउटा सत्यको अनावरण गरेरै मर्यौ
हृदयको गतिलाई यथावत् राख्नका निम्ति
र अर्थहीन भएर कपाल फुलाउनका निम्ति
नादिरशाहहरूसँग भीक्षाटनको अलख नजगाएरै मर्यौ
मरे पनि जत्रोसुकै प्रलयले समेत
हल्लाउन नसक्ने एउटा विशाल मजबुत
यस युगको युगीन स्तम्भ भएरै मर्यौ
दुश्मनको तबेलाभित्र दुश्मनले चिम्टो लिएर
आफ्नो जगरका एकएक रौंहरू उखेलिरहँदा
आफ्ना तबेलाका कुनै पनि घोडाका
पुच्छरका रौंहरुसमेत
प्रदर्शन नगरेर यस युगको एउटा अर्को बुसेफेलस भएर मर्यौ ।
जहाँ मरे पनि भिमानले सिंहावलोकन गर्दा
एउटा अर्को श्रृषेश्वरको मृत्यु लिएर मर्यौ
नर्वदाले तिमीलाई पुनरावलोकन गर्दा
एउटा अर्को चेरावण्डा भएरै मर्यौ
जहाँ मरे पनि टर्कीले तिम्रो कविता पढ्दा
एउटा अर्को सेवाहत्तिनको मृत्यु लिएर मर्यौ ।
जहाँ मरे पनि चीनले अवलोकन गर्दा
दुष्टका बालीहरु सखाप पार्ने
एउटा अर्को ह्वाङ हो नदी भएर मर्यौ
जहाँ मरे पनि भूगोलभित्रका
हरेक खोंचमा सदैव फुलिरहने
मकरकाँची भएर मर्यौ
जहाँ मरे पनि हजारौँका मनहरूमा
तिमीले लाखौँ सइन उमारेर मर्यौ
संवाददाताहरु भन्छन्
सुँघिरहेका छैनन् तिम्रो मृत्युमा
कसैले पनि गान्धीको टालो
तिम्रो मृत्युपश्चात कोही दौडेका छैनन् गिर्जाघरतिर
संवाददाताहरु भन्छन्
तिम्रो मृत्युपश्चात
हजारौँ मानिसहरुले के गरिरहेका छन्
के गर्न खोजिरहेका छन्
यस कुरालाई लाहाछाप मारेर
खामभित्र राख्नुपर्छ ।
कलम साहित्यिक त्रैमासिक (२०५९)